राजा वीरेन्द्रका परिवारको सम्झनामा दीप प्रज्वलन, कमलादीमा वाइसीएलसँग भेट हुँदा तनाव


काठमाडौं । दिवंगत राजपरिवारलाई श्रद्धान्जली दिन र दीप प्रज्ववलन कार्यक्रम गरिएको छ । हिमानी ट्रस्टको आयोजनामा कमलादीस्थित गणेश मन्दिरमा भएको कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयन्द्र शाह पुगेका छन् । उनीहरूसँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजावादी नेता कार्यकर्ताहरू पनि कमलादी पुगेका छन्।
दीप प्रज्वलन कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा रानीको तस्बिरमा माल्यार्पण गरेका थिए। उनीपछि राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले गरे।
त्यसपछि मात्रै हिमानी, पारस र हृदयन्द्र कमला आइपुगेका थिए। मन्दिर प्रवेशका क्रममा समर्थकहरुले नाराबाजी र जयजयकार गरेका थिए । उनीहरूले पनि तस्बिरमा माल्यार्पण गरेपछि दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका थिए।
यसैबीच कार्यक्रम नजिकै प्रज्ञा भवनमा माओवादी निकट वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन चलिरहेको छ । यहीबीचमा सोमबार साँझ सोही क्षेत्र हुँदै राजावादी समूहको जुलुस आयो । त्यही बीचमा प्रज्ञा भवनबाट वाइसीएलका कार्यकर्ताहरु पनि बाहिर निस्किएपछि उनीहरु र राजावादीबीच केहीबेर तनावपूर्ण अवस्था बन्न पुग्यो । प्रहरीले भीडलाई हस्तक्षेप गरेको थियो । केहीबेर अवस्था तनावपूर्ण भए पनि अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।