गभर्नर पौडेलविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

User Image मेयरसाप डेस्क | २०८२ जेठ २० गते ०५:०२
Image of https://mayorsap.com/storage/photos/10/Bishwo-paudel.jpg

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलविरुद्ध दायर रिटमा आज सुनुवाइ हुने भएको छ । गभर्नर पौडेलको योग्यता र नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै दायर रिटमा आज दोस्रोपटक सुनुवाइ हुन लागेको हो।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बुधबार (जेठ १४ गते) प्रारम्भिक सुनुवाइ गर्दै नेपाल सरकारसहितका विपक्षीलाई नियुक्तिको आधार पुष्टि गर्ने प्रमाण लिएर आजको बहसमा उपस्थित हुन आदेश गरेको थियो ।  

पौडेल जेठ ६ गते गभर्नरमा नियुक्त भएका  थिए ।  गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको रिटमा दाबी गरिएको छ । 

निवेदकहरूले गभर्नर पौडेलमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको आर्थिक मौद्रिक, वाणिज्य र बैंकिङ क्षेत्रको शैक्षिक उपाधि नभई ग्रामीण अर्थशास्त्रको योग्यता रहेकोले ऐनले अनिवार्य गरेको उपाधि नभएको, आफैँ सिफारिस समितिमा बसेको व्यक्तिले राजीनामा गरी निहित स्वार्थमा प्रतिस्पर्धा नगराई नियुक्ति गरिएको तर्क पनि गरेका छन्। 


Facebook Comments