Ad Image

‘म झोले हुँ’ ट्रेन्ड: आत्मगौरव कि लाज लुकाउने मेलाे ?

User Image रामचन्द्र मिश्र | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/22/Oli Jhole Trend.jpeg

काठमाडौं। ‘झोले’ शब्द नेपाली राजनीतिक परिभाषामा लामो समयदेखि एक किसिमको अपमानजनक सम्बोधनको रूपमा प्रयोग हुँदै आएको छ। नेताको अन्धसमर्थक, स्वविवेकको अभावमा झोला बोकेर हिँड्ने कार्यकर्तालाई लक्षित गरेर ‘झोले’ भनिन्छ।

“म झोले हुँ। म नेकपा एमालेको झोले हुँ। म जनताको झोले हुँ।” प्रधानमन्त्री केपी शर्मा ओलीको यही अभिव्यक्ति पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। यो ट्रेन्ड प्रधानमन्त्रीसमेत रहेका ओलीले जबरजस्ती आत्मगौरवको रूपमा प्रस्तुत गरेका छन्  । पछिल्लाे समय विशेषगरी एमाले, कांग्रेस तथा माओवादीसमेतमा आवद्ध व्यक्तिहरूलाई नागरिकहरूले गलत नियतका साथ 'झोले' शब्दले अपमान गरेकाे देखिन्छ ।

पुराना तीन पार्टीप्रति पछिल्लाे पुस्ताका युवाहरू निरास मात्रै छैनन्, आउँदाे चुनावमा उनीहरूलाई सत्ता लिन नमिल्नेगरी पराजित गराउने तयारीमा रहेका छन् । पुराना दलका नेताहरुले सत्ताकाे पटक पटक दुरूपयाेग गरेपछि निरास भएका युवापुस्ता आउँदाे २०८४ काे चुनावमा तीन दलका शीर्ष नेतालाई पराजित गर्न चाहन्छन् । अनि नयाँ युवाकाे र देशकाे परिस्थिति बुझेर सत्ता सम्हाल्ने राजनीतिक नेतृत्वकाे पक्षमा उनीहरू खुलेर लागेका छन् । याे अवस्थाबारे एमालेका अध्यक्ष ओली पूर्ण जानकार छन् । सायद उनलाई नवपुस्ताले आफ्ना कार्यकर्तालाई 'झाेले' शब्दले अपमान गरेकाे चित्‍त नबुझेकाे हुनसक्छ । यसैकारण उनी नेपाली समाजमा अपमानित रूपमा प्रयाेगमा आउने 'झोले' शब्दलाई लाज पचाएर जबरजस्ती आत्मगौरवमा बदल्न खाेज्दैछन् ।

प्रधानमन्त्री ओलीले यही शब्दलाई उल्ट्याउँदै आफ्नो अभिव्यक्तिमा ‘झोले’ शब्द जबरजस्ती गर्वसाथ समावेश गरे। उनले भने, “एउटा सामन्ती परिवारको दास बन्नु भन्दा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र हो।”

जेठ १७ गते नेपाल बुद्धिजीवी परिषद्को कार्यक्रममा उनले आफू ‘झोले’ भएको स्वीकार गर्दै त्यसलाई सकारात्मक व्याख्या गरे। त्यसको दुई दिनपछि उनले आफ्नो फेसबुकमा ‘म झोले हुँ’ लेखिएको पोस्टर सार्वजनिक गरे। पोस्टरमा दुई हात जोडिएको छवि छ, र मुनि लेखिएको छ: “.....एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र हो।”

फेसबुकमा उनले थपे: “सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ। भीडसँग बल हुन्छ, तर सत्य नहुन सक्छ। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।”

ओलीको यस अभिव्यक्तिपछि नेकपा एमालेका वरिष्ठ नेता शंकर पोखरेल, खिमलाल भट्टराई, सुहाङ नेम्वाङलगायत नेताहरूले पनि ‘म झोले हुँ’ पोस्टर सेयर गरे। वास्तवमा उनीहरूले सच्चा ‘झोले’काे चरित्र निभाए । त्यसपछि यो ट्रेन्ड सामाजिक सञ्जालमा एक किसिमको डिजिटल अभियानजस्तै फैलियो। सँगै आलोचनासमेत फैलिरहेकाे छ ।

कतिपयले यसलाई सत्तापक्षद्वारा आलोचनाको प्रतिकारस्वरूप चलाइएको डिजिटल स्वीकृति अभियान मानेका छन्, जसले कार्यकर्तालाई भावनात्मक रूपमा बाँध्ने प्रयास गर्छ।

केही आलोचकहरू भन्छन् – प्रधानमन्त्री ओलीले ‘झोले’ शब्दलाई ‘गर्वपूर्ण’ देखाएर आफूलाई केन्द्रमा राखिएको आलोचना, राजावादी आन्दोलन, राष्ट्रवादी विमर्श र रास्वपाको उभारबाट ध्यान अन्यत्र मोड्न खोजेका हुन्।

राजनीतिक विश्लेषकहरू भन्छन् – 'जब सत्ताको विपक्षीहरूले 'झोले' भनेर व्यंग्य गर्छन्, त्यसले जनतामा असन्तुष्टि उब्जाउँछ। तर सत्तामा बसेकाले नै ‘झोले’ भन्ने शब्दलाई अंगीकार गर्दा त्यस शब्दको धार नै कुन्दिन्छ। संचारको भाषामा यो ‘रिफ्रेमिङ’ (Reframing) हो – जसले विमर्शको दिशा परिवर्तन गर्न सक्छ।'

यद्यपि, सबैले यसलाई स्वीकार गरेका छैनन्। आलोचकहरू भन्छन् – ‘म झोले हुँ’ भन्ने ट्रेन्ड जनताको जीवनसँग जोडिएको छैन। जनताको मुख्य मुद्दा बेरोजगारी, महँगी, भ्रष्टाचार, सुशासन र विकास हो। यी विषयमा खास प्रगति नदेखिएसम्म केवल झोला बोकेको गर्व देखाएर जनताको समर्थन जुटाउन सकिंदैन।

“झोला बोक्नु गलत होइन,” एक सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्, “तर त्यो झोलामा जनताको समस्या समाधान गर्ने स्पष्ट योजना पनि चाहिन्छ।”

अब प्रश्न उठ्छ — ‘म झोले हुँ’ भन्ने ट्रेन्ड साँच्चै राजनीतिक बौद्धिकताको प्रतीक हो त? वा, सत्ताविरोधी आवाजलाई कमजोर पार्ने एक कवचमात्र हो?

सार्वजनिक प्रतिक्रिया, सामाजिक सञ्जालको प्रवृत्ति, र राजनीतिक विश्लेषकहरूको मूल्याङ्कन हेर्दा — यो ट्रेन्ड सत्ता पक्षको जनसम्पर्क रणनीति हो भन्ने देखिन्छ, तर यसको प्रभाव र औचित्यमाथि बहस अझै बाँकी छ।