हेटौडा– काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आजदेखि बन्द


काठमाडौं । हेटौडा– काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने भएको छ। कान्तिलोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले ४ दिन सडक बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर आजबाट जेठ २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको छ ।
सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ र काठमाण्डौ–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले आग्रह गरेका छन् । कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।