तमानखोला गाउँपालिकाका २२ जना एकल महिलालाई मौरीसहित घार वितरण

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले २२ जना एकल महिलालाई मौरीसहित घार वितरण गरेको छ। पालिकाले तीन लाखमा घार खरिद गरी वितरण गरेको हो ।
एकल महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सीप सिकाएर मौरी र घार वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताइन्। पालि काले अनुदानलगायत प्राविधिक सहयोग गर्दै आएको बताएकी छिन् । तमानखोला क्षेत्र मौरीपालकका लागि उपयुक्त भएको हुँदा पहिलो चरणमा एक एक घार उपलब्ध गराएको तथा व्यावसायिक रूपमा काम गरेमा थप सहयोग गर्ने उनले जानकारी दिइन् ।
“एकल महिलाई यस वर्ष सीप सिकाएर व्यवसायसँग जोडौँ भन्ने हिसाबले मौरी पालनसम्बन्धी तालिम र मौरीसहित घार पनि उपलब्ध गराएका छौँ, ”, उपाध्यक्ष छन्त्यालले भनिन् ।
तमानखोला गाउँपालिका–६ की जसदेवी छन्त्यालले मौरीपालनबाट परिवार चलाउने र छोराछोरीको पढाइ खर्च जुटाउने योजना रहेको बताएकी छिन् ।