गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षीको अडान कायमै, प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ । प्रतिनिधि सभाको अवरोध हटाउन संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सत्तापक्ष र विपक्षीले आफ्नो अडान नछोडेपछि बिना निष्कर्ष बैठक सकिएको हो ।
बैठकमा भिटिज भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्नेमा विपक्षी दलहरुले अडान कायम राखेका छन् । उनीहरुले गृहमन्त्रीमाथि छानबिन हुने भए संसद चल्न दिने शर्त राखेका थिए । तर सत्तापक्षले गृहमन्त्रीले राजीनामा पनि नदिने र छानबिन पनि नहुने अडान लिए । सत्ता पक्ष र विपक्ष दुवैले आफ्नो अडान नछोड्दा बैठक निष्कर्षविहीन बन्न पुगेको छ ।
मंगलवार दुई पटक सूचना टाँसेर बस्दै नबसी स्थगित भएको प्रतिनिधि सभा बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको थियो । सत्ता पक्ष र विपक्षबीचमा सहमति हुन नसक्दा प्रतिनिधि सभाको आजको बैठक समेत अहिलेसम्म सुरु हुन सकेको छैन ।