सार्वजनिक यातायातमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातमा हडताल नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले बुधबार यो आदेश जारी गर्दै अन्तरिम आदेशमा छलफल गर्न दुवै पक्षलाई बोलाएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेशको राइड सेयरिङसम्बन्धी नियमावलीविरुद्ध जेठ १९ गतेदेखि देशव्यापी आन्दोलन सुरु गरेको थियो । सो आन्दोलनविरुद्ध अधिवक्ता विवेक पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा सार्वजनिक यातायात अत्यावश्यक सेवा भएकाले सेवा बन्द गर्नु संविधानविपरीत भएको उल्लेख छ ।
हडतालका कारण विद्यार्थी, बिरामी, कर्मचारीलगायत हजारौं नागरिक प्रभावित भएको भन्दै तत्काल सेवा सञ्चालन गर्न माग गरिएको छ ।