बुल्गेरियाले सन् २०२६ देखि युरो मुद्रा अपनाउने, युरोपेली संघले दियो स्वीकृति


बुल्गेरिया । युरोपेली संघ (ईयु) ले बुल्गेरियालाई सन् २०२६ जनवरी १ देखि युरो मुद्रा अपनाउन स्वीकृति दिएको छ । यो निर्णयसँगै बुल्गेरिया ‘युरोजोन’ मा प्रवेश गर्ने २१ औं देश बन्नेछ ।
युरोपेली आयोगले बुधबार दिएको निर्णयमा बुल्गेरियाले युरो अपनाउनका लागि आवश्यक सबै कडा आर्थिक मापदण्डहरू पूरा गरेको भनिएको छ । युरोपेली केन्द्रीय बैंकले पनि सकारात्मक प्रतिक्रिया दिँदै बुल्गेरियाको ‘आवश्यक समायोजनहरूमा देखिएको गहिरो प्रतिबद्धता’ को प्रशंसा गरेको छ ।
बुल्गेरियाका प्रधानमन्त्री रोसेन जेल्याज्कोभले यसलाई ‘एक ऐतिहासिक र गर्वको दिन’ भन्दै स्वागत गरे । उनले सामाजिक सञ्जाल ‘एक्स’ मा उल्लेख गरे, “युरोमा जाने हाम्रो यात्रामा आजको दिन अर्को महत्वपूर्ण कदम हो । यो सुधार, समर्पण र युरोपेली साझेदारहरूसँगको दीर्घकालीन सहकार्यको परिणाम हो ।”
यद्यपि, सबै नागरिक भने यस निर्णयबाट सन्तुष्ट देखिएका छैनन् । देशभित्र युरोको विरोधमा जनभावना चर्किएको छ । पछिल्ला सर्वेक्षणहरूमा करिब आधा जनसङ्ख्याले युरो लागू गर्नु उचित नहुने बताएका छन् । उनीहरू मूल्यवृद्धि, आर्थिक अस्थिरता र राष्ट्रिय स्वाधीनता गुम्ने डर व्यक्त गरिरहेका छन् ।
बुल्गेरियाको युरो प्रवेश यात्रा सजिलो भने रहेन । विगत तीन वर्षमा सातवटा संसदीय निर्वाचनको सामना गरेको देशले राजनीतिक अस्थिरता, मुद्रास्फीति र आर्थिक चुनौतीहरूको सामना गर्दै आएको थियो ।
यसअघि देशले आवश्यक मापदण्डहरू मध्ये सबै पूरा गरे पनि मुद्रास्फीति दर अत्यधिक रहेकाले युरो सदस्यता रोकिएको थियो । तर पछिल्लो १२ महिनामा देशको औसत मुद्रास्फीति दर २ दशमलव ७ प्रतिशत पुगेको छ, जुन युरो क्षेत्रको सन्दर्भ मूल्यभन्दा कम हो ।