हीरा व्यापारी मेहुल चोक्सीको बैंक खाता र सेयर सम्पत्ति जफत गर्न आदेश


काठमाडौं । भारतको बजार नियामक निकाय सेबी (भारतीय प्रतिभूति तथा विनिमय बोर्ड)ले इनसाइडर ट्रेडिङ नियम उल्लङ्घन गरेको आरोपमा गीताञ्जली जेम्सको २ करोड १० लाख रुपैयाँ बराबरको बाँकी सेयर असुल गर्ने भएको छ ।
सेबीले फरार हीरा व्यवसायी मेहुल चोक्सीको बैंक खाता, सेयर र म्यूचुअल फन्ड होल्डिङ जफत गर्ने आदेश दिएको हो । १५ मे मा जारी गरिएको डिमान्ड विज्ञप्तिमा १५ दिनभित्र रकम नतिरेमा चोक्सीको सम्पत्ति र बैंक खाता जफत गरिने उल्लेख गरिएको थियो ।
चोक्सीले जनवरी २०२२ मा सेबीले लगाएको जरिवाना नतिरेपछि उक्त नोटिस जारी गरेको हो । चोक्सीले गीताञ्जली जेम्स लिमिटेडका सेयरहरूमा इनसाइडर ट्रेडिङसम्बन्धी नियम उल्लङ्घन गरेका थिए ।
चोक्सी गीताञ्जली जेम्सका अध्यक्ष, प्रबन्ध निर्देशक तथा प्रवर्द्धक समूहका सदस्य थिए । उनी चर्चित हीरा व्यापारी नीरव मोदीका मामा पनि हुन् ।
चोक्सी र मोदी दुबैजनामाथि सरकारी स्वामित्वको पन्जाब नेशनल बैंकबाट १४ हजार करोड रुपैयाँभन्दा बढीको ठगी गरेको आरोप छ । सन् २०१८ को सुरुमा यो घोटाला सार्वजनिक भएपछि दुवै जना भारतबाट फरार भएका थिए ।
चोक्सी भारतबाट भागेर सन् २०१८ देखि एन्टिगुवामा बस्दै आएका थिए । तर, पछिल्लो वर्ष उपचारका लागि बेल्जियम गएका बेला उनी त्यहीँ भेटिएका थिए । अप्रिलमा भारतको अनुरोधमा बेल्जियममा उनलाई पक्राउ गरिएको थियो ।
दोस्रा आरोपी नीरव मोदीलाई मार्च २०१९ मा स्कटल्यान्ड यार्ड प्रहरीले बेलायतमा पक्राउ गरेको थियो र हाल उनी त्यहीँको जेलमा छन् ।
४ जुनमा सेबीले जारी गरेको नोटिसमा चोक्सीमाथिको कुल बक्यौता २.१ करोड रुपैयाँ रहेको उल्लेख छ, जसमा १.५ करोड रुपैयाँ जरिवाना र ६० लाख रुपैयाँ ब्याज समावेश छ ।