Ad Image

हेटौँडामा २० करोड लागतमा खानेपानी योजना निर्माण, त्रिपक्षीय सम्झौता सम्पन्न

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/hetauda upa.jpg

हेटौँडा । हेटौँडा उपमहानगरपालिका र संघीय सरकारको सहलगानीको हेटौँडामा २० करोड रुपियाँ भन्दा बढीको लगानीमा खानेपानी योजना निर्माण हुने भएको छ ।

उपमहानगरपालिकाको ९, १४ र १५ नम्बर वडा लक्षित गर्दै सिमलटार–रातोमाटे सहलगानी खानेपानी योजना अन्तरगत ठुलो लगानीको काम हुने भएको हो । शुक्रबार हेटौँडा उपमहानगरपालिका, संघीय खानेपानी योजना र निर्माण पक्ष बिच त्रिपक्षीय सहमति पत्रमा हस्ताक्षर भएको छ ।

हेटौँडा उपमहानगरपालिका खानेपानी बोर्डले तयार पारेको ८२ करोडको वातावरणीय प्रभाव मुल्याङकन अन्तरगत रहेर संघीय सरकारले हेटौँडा उपमहानगरपालिका लक्षित गर्दै खोलेको ठेक्कामा अनुसार निर्माण पक्षले २० करोड ५६ लाख रुपियाँमा २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने सम्झौता भएको छ ।

उपमहानगरपालिका कार्यालयमा भएको सम्झौता पत्रमा नगर प्रमुख मिनाकुमारी लामा, संघिय खानेपानी योजना प्रमुख पूर्णप्रसाद उपाध्याय, हेटौँडा खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट र निर्माण पक्ष जयमाता सुप्रीम जेभीका कृष्णहरि चौलागाईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उपमहानगरको ३० र संघिय योजनाको ७० प्रतिशत लगानी रहने छ ।

२० करोड ५६ लाखको लगानीमा हेटौँडा–९ को बेदखोल्सिमा ६ लाख लिटर, हेटौँडा–१५ पिसपार्कमा २ लाख लिटर र हेटौँडा–१४ मा २ लाख लिटरको खानेपानी टङ्की निर्माण गरिने छ भने हेटौँडा–१४ मै २ वटा सामवेल बनाउने सम्झौतामा उल्लेख छ । योजना अनुसार हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले प्रयोगमा ल्याएको सामरीको समवेलको पानीलाई ३ करोड रुपियाँ खर्चेर यही योजनामा समावेश गर्ने बताइएको छ ।

योजना सम्झौतामा नगर प्रमुख लामाले निर्माणको कामलाई गुणस्तरीय बनाउँदै नगरवासीलाई चाडै खानेपानीको व्यवस्थापन मिलाउने काममा लाग्न निर्माण पक्षलाई सुझाव दिइन् ।

योजना निर्माण हुने क्षेत्र मध्य दुई वटा वडा १४ र १५ पछि उपमहानगरपालिकामा समावेश भएको क्षेत्र भएकाले त्यहाँका जनतालाई खानेपानीको सुविधा दिने काममा उपमहानगर पछि नपर्ने गरी काममा लाग्न निर्देशन दिइन् । उनले भनिन्, ‘तोकिएको समयमा कामलाई सम्पन्न गर्ने गरी लाग्न जरुरी छ ।’