Ad Image

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि हुने

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rakhepa-national-soprts-.jpg

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद आयोजना गरिएको राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

राखेप सदस्य–सचिव टङ्कलाल घिसिङका अनुसार प्रतियोगितामा सात प्रदेशका ४७६ खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र÷छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र÷छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा छात्र÷छात्रामा समान ६–६ तथा टेबलटेनिस र ब्याडमिन्टनमा छात्र÷छात्रामा समान २–२ स्पर्धामा खेल हुनेछ ।

नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालिको सह–आयोजना तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कास्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बुढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ ।

क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बाँकी ५ खेल जेठ २५ देखि २६ गतेसम्म चल्ने छ । सदस्य–सचिव घिसिङले खेलकुदको जग ग्रासरुट भन्ने धेरै सुनिए पनि व्यहारमा लागू नभएको हुँदा राखेपले जुनियर प्रतियोगिताको अवधारणालाई अघि सारेको बताए ।