Ad Image

आज यी नदीहरुमा बाढी आउन सक्ने, सतर्कता अपनाउन आग्रह

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/baadhi-pahiro-flood.jpg

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज कोशी र मधेस प्रदेशका जिल्लामा ठूलो बाढी आउने सम्भावना रहेको जनाएको छ । महाशाखाले आज शनिबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा, सर्लाही र आसपासका जिल्ला भई बहने केही ससाना नदीमा बहाब सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेको छ । ती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तै महाशाखाले आगामी ३ दिन (सोमबारसम्म) कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाले कन्काई, कमला र बागमतीमा बहाव केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन पनि भनेको छ ।