Ad Image

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ३४ घाइते

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/accident-scaled_.jpg

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र  सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।

रानाका अनुसार तुलसीपुर–अमलिया खण्डअन्तर्गत गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरियातर्फ गइरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा१क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर, १५ को मध्यम र बाँकीको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रानाले बताए । घाइते सबैको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जनाउँदै उनले बसमा सवार अधिकांश एउटै गाउँका रहेका बताए ।

दुर्घटनाको खबर प्राप्त हुनेबित्तिकै इलाका प्रहरी कार्यालय दमारगाउँबाट प्रहरी नायब निरीक्षक पारेश्वर डाँगीको कमान्डमा तीन र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक रानाको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

घाइतेहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । दुवै बसका चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको प्रनि रानाले उल्लेख गर्नुभयो । ठक्करपछि यात्रुवाहक बस सडकबाट करिब पाँच मिटर तल पल्टिएको थियो