काठमाडौं जिल्ला समितिले गर्यो वाइसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार

काठमाडौं । वाइसीएल जिल्ला समिति काठमाडौंले भर्खरै सम्पन्न तेस्रो सम्मेलनबाट चयन भएका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको छ । मनोमानी ढंगले सदस्यहरूको नामावली हेरफेर गरी आफ्ना मान्छेहरूलाई राखेकाले आजको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरिएको अध्यक्ष रुपेश दंगालले जानकारी दिए ।
‘निर्वाचन आयोगले मनोनयन दर्ता गरेको छ,’ ‘शुल्क समेत लिइसकेका सदस्यहरूको नाम रातारात काटेर आएको छ,’ उनले भने, ‘उक्त निर्णयप्रति हाम्रो असहमति हो ।’ अध्यक्ष दंगालका अनुसार केन्द्रबाट ४५ जना सदस्यहरूको नामावली हेरफेर गरिएको छ ।
जिल्ला संगठनले सिफारिस गरेको केन्द्रीय सदस्यको नामावली हेरफेर हुनेमा काठमाडौंसहित अन्य जिल्लाहरूको पनि रहेको उनले बताए । केही दिनअघि सम्पन्न वाइसीएलको सम्मेलनमा केन्द्रको हस्तक्षेपपछि सर्वसहमति नेतृत्व चयन गरिएको थियो ।