अमेरिकाबाट निष्कासित ३७ नेपालीलाई लिएर आएको जहाज काठमाडौं अवतरण


काठमाडौं । अमेरिकाबाट डिपोर्ट (निष्कासन)मा परेका ३७ जना नेपालीहरूको जम्बो टोली काठमाडौं आइपुगेका छन् । उनीहरू अमेरिकाको चार्टर्ड विमानबाट आइतबार साँझ काठमाडौं आइपुगेका हुन् । उनीहरूलाई बंगलादेशको ढाका हुँदै नेपाल फर्काइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन्। निष्कासित परेका नेपालीहरू दिनहुँजसो काठमाडौं आउने गरेका छन्। त्यसो त अमेरिकाले नै चार्टर्ड विमानमार्फत यसअघि पनि नेपालीहरूलाई फर्काएको थियो ।
ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ । डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको स्रोतले जनायो ।