ताला फोडेर निमित्त प्रशासकीय अधिकृतलाई पदभार गराउन खोज्दा राजविराज नगरपालिकामा झडप

काठमाडौं । सप्तरीको राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ । निलम्बित मेयर भीमराज यादवले लगाएको ताला फोडेर कार्यवाहक मेयर समेत रहेकी उपमेयर इसरत परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत डा.श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएपछि निलम्बित मेयर यादवले तीन दिनदेखि कार्यालयमा ताला लगाएका थिए । ताला फोडेर उपमेयर परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा भोगेन्द्र यादवका समर्थकले प्रदर्शनसहित झडप गरेका हुन् ।
बाहिर आन्दोलन चर्किएपछि परविन कार्यालयमै थुनिएकी छिन् । कार्यालयमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन भएका छन् । प्रदर्शनकारीले नगरपालिकाका लेखापाल शत्रुधनलाल दास, स्वास्थ्यकर्मी सन्तोष दासलाई कुटपिट गर्नुका साथै कार्यालय भवनको अधिकांश सिसा समेत फुटाएका छन् ।
मेयर भीमराज स्वयं भने स्थानीय राज रंगशाला स्तरन्नोतिको भ्रष्टाचार मुद्दामा निलम्बित छन् ।