रौतहटमा लुटपाटमा संलग्न २ जना पक्राउ, भागेकाको खोजी कार्य जारी


रौतहट । रौतहट प्रहरीले लुटपाटमा संलग्न रौतहट जिल्ला यमुनामाई गाउँपालिका–१ जेठरहीया झाझपुल स्थायी ठेगाना भएका २२ वर्षीय मुकेश महतो र २० वर्षीय सीताराम महतोलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख नेत्रमणि गिरीले आज बिहान रौतहट दुर्गाभगवती गाउँपालिका–३ मत्सरीका ३५ वर्षीय कृष्णमणि झालाई लुटपाट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जानकारी दिए ।
लुटपाट गर्ने उद्देश्यले झाझपुल नजिक लुकिछिपी बसेका सात/आठ जना व्यक्तिले मोटरसाइकलमा सवार झालाई रोकेर समानसहित मोटरसाइकल समेत लैजान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न केही लुटेरा भागेको र अहिले तिनीहरूको खोजी कार्य तीव्र गतिमा भइरहेको प्रहरी प्रमुख गिरीले जानकारी दिए।