संसद अवरोध खुलाउन कांग्रेस, एमाले र माओवादी सहमत, रास्वपाले छाडेन अडान


काठमाडौं । प्रतिनिधि सभाको अवरोध खुलाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रबीच सहमति भएको छ । सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने र माओवादीले संसदको अवरोध खुलाउने गरी सहमति भएको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमतिमा हस्ताक्षर भएको छ।
पहिलो बुँदामा उल्लेख गरिएको छ, ‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अस्तियार दुरूपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।’
त्यसैगरी सहमतिको दोस्रो बुँदामा ‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने’ उल्लेख छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान कायम राखेको छ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर मात्रै अघि बढ्ने रास्वपाको अडान छ ।