Ad Image

कोशी प्रदेश सभामा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रस्तुत

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/koshi-pradesh-1_QoLEcWeMCA_nW8rP5UU0U.jpg

मोरङ । कोशी प्रदेश सभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सर्वेक्षण विवरण प्रस्तुत गर्दै प्रदेशको आन्तरिक राजस्व उत्साहजनक नरहेको बताए ।

उनले गत चैत मसान्तसम्म रु ११ अर्ब ११ करोड पाँच लाख राजस्व सङ्कलन भएको जानकरी दिए। यसैगरी, सङ्घ अनुदानको जम्मा रु नौ अर्ब एक करोड वार्षिक लक्ष्यमा ६२ प्रतिशत निकासा प्राप्त भएको जानकारी दिँदै मन्त्री मगरले प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव तीन प्रतिशत र प्रतिव्यक्ति आम्दानी एक हजार ४०१ अमेरिकी डलर रहेको बताए।

उनले प्रदेशको आर्थिक क्रियाकलापमा कृषिको ३४ दशमलव चार प्रतिशत र औद्यागिक क्षेत्रको १६ दशमलव शून्य तीन प्रतिशत योगदान रहेको उल्लेख गरे। 

शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, रमेशकुमार बस्नेत, राधाकृष्ण खनाल र शोभा चेम्जोङले असारे विकास प्रवृत्तिले भ्रष्टाचार मौलाउने र गुणस्तर कम हुने, जेठ १७ गते परेको अविरल वर्षाले सुनसरीको धरान आसपासका क्षेत्रमा नदी कटान र खानेपानीको मुहान बगाएको, किसानले चैते धानको उचित मूल्य नपाएको तथा बालबालिकाहरु पछिल्लो समयमा खोला र पोखरीमा डुबेर अकालमा ज्यान गुमाउनु परेका आवश्यक योजना बनाउनुपर्ने जस्ता विषयमा धारणा राखे ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ३ बजे बस्ने छ । उक्त बैठकमा आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट सार्वजनिक हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिए।