इरानले गर्यो इजरायलमाथि ब्यालिस्टिक मिसाइल प्रहार, एक जनाको मृत्यु, ६० बढी घाइते


जेरूसेलम । इरानले इजरायलमाथि ठूलो संख्यामा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। गएराति इजरायलमा ‘दर्जनौँ लक्ष्य, सैन्य सुविधा र हवाई अड्डा’मा आक्रमण गरेको इस्लामिक रिभोलुसनरी गार्डले विज्ञप्तिमार्फत जनाएको छ । शुक्रबार राति तेल अभिभ र जेरुसलेममा विस्फोटको आवाजहरू सुनिएको थियो र इजरायलभरि साइरन बजाइएको थियो।
इरानले यो अपरेसनलाई ‘ट्रु प्रोमिस ३’ नाम दिएको छ। यस अपरेसनको थप विवरण पछि जानकारी गराइने भनिएको छ। यो हमला तेहरानका आणविक स्थलहरू र सैनिक नेताहरूमाथि इजरायली आक्रमणको प्रतिशोधमा गरिएको हो।
इरानले प्रहार गरेको मिसाइल ।
शुक्रबार सयभन्दा धेरै ड्रोन आक्रमण गरेको इरानले त्यसपछि मध्यरातमा ब्यालेस्टिक मिसाइल हानेको हो। इरानले ब्यालेस्टिक मिसाइलले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको समाचार टाइम्स अफ इजरायलले लेखेको छ।
समाचार अनुसार ती महिला सुरूमा गम्भीर घाइते भएकी थिइन्, पछि अस्पतालमा उनको मृत्यु भयो। इरानबाट हानिएको मिसाइल आक्रमणमा अन्य ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्। तिनमा केही व्यक्तिहरू गम्भीर रूपमा घाइते भएका छन् ।
इरानले मिसाइल प्रहार गरेको क्षेत्र ।
इरानको जवाफी कारबाहीपछि आइडीएफले ९इजरायली रक्षा बल० नागरिकहरूलाई तोकिएको सेल्टरमा बस्न आग्रह गरेको छ। आइडीएफले इरानबाट सयौं रकेट इजरायलतर्फ हानिएको जनाएको छ। आइडीएफले केही मिसाइलहरू इन्टरसेप्ट गरिएको जनाए पनि कति वटा रोकिए भन्ने खुलाएको छैन।
इजरायलले शुक्रबार एकाबिहानै इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि दुई मुलुकबीच तनाव चर्किएको छ । इजरायलको हमलामा परी इरानी सेनाका प्रमुख मोहम्मद बाघेरी, इरानी रिभोलुसनी गार्ड्स करका प्रमुख हुसेइन सलामी, वरिष्ठ कमान्डर घोलम अली रसिदलगायतको ज्यान गएको छ । इरानको नातान्जस्थित आणविक प्रशोधन केन्द्रलक्षित आक्रमणमा ६ आणविक वैज्ञानिकको समेत मृत्यु भएको छ । इजरायलको हमलामा परी शुक्रबार साँझसम्म ७० जनाभन्दा धेरै आफ्ना नागरिकको ज्यान गएको इरानी पक्षले जनाएको छ ।