इरानको आक्रमणबाट इजरायलमा ८ जनाको मृत्यु, २ सय बढी घाइते


काठमाडौं । इरानले इजरायलमाथि भयंकर हमला गरेको छ । इरान र इजरायलबीच पछिल्लो ४८ घण्टादेखि मिसाइल र ड्रोन हानाहान भइरहेको छ । इरानले शनिबार राति इजरायलका तेलअभिव, जेरूसलेम, तमरा, हाफिया पेट्रोलियम रिफाइनिङ केन्द्रसहित ४ स्थानमा आक्रमण गरेको टाइम्स अफ इजरायलले जनाएको छ । हमलामा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते भएका छन् ।
आक्रमणबाट ब्याट याममा ३ जनाको मृत्यु भएका छ । यसैगरी ताम्रामा कम्तिमा ५ जनाको मृत्यु भएको जनाएको छ । आक्रमणबाट घरहरुमा क्षति पुगेको छ । यसैगरी इजरायलले तेहरानस्थित इरानको रक्षा मन्त्रालयको मुख्यालयलाई लक्ष्य बनाएर आक्रमण गरेको छ। इरानी समाचार संस्था तास्नीमका अनुसार शनिबार राति इजरायलले तेहरानस्थित रक्षा मन्त्रालयलाई निशाना बनाएको छ । यस बाहेक तेहरान र बुसेहरमा तेल डिपो र ग्याँस रिफाइनरी सहित १५० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।
दुई दिनसम्म चलेको लडाइमा अहिलेसम्म ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी कमाण्डरसहित १३८ इरानी मारिएका छन् भने ३ सय ५० भन्दा बढी घाइते भएका छन् । इरानको राजधानी तेहरानसहित ७ राज्यमा वायु रक्षा प्रणाली सक्रिय गरिएको छ । इरानले इजरायलका तीन त्रुज मिसाइल, १० ड्रोन र अन्य धेरै साना ड्रोनहरुलाई आकासमै ध्वस्त पारेको जनाएको छ । इरानले ३ इजरायली एफ–३५ विमान खसालेको दाबी गरेको छ ।