खामेनेइ लुकेको ठाउँ थाहा भएको भन्दै इरानलाई ट्रम्पको चेतावनी– ‘बिनासर्त आत्मसमर्पण गर’
मेयरसाप डेस्क
|
२०८२ असार ४ गते ०८:०९
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पटक पटक आक्रोश पोख्दै आएका छन् । इरानको आलोचना गर्दै उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा धेरैवटा पोस्ट गरेका छन् । पछिल्लो पटक राष्ट्रपति ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खामेनेइलाई बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिएका छन्।
तत्काल उनको ज्यान सुरक्षित रहेको भन्दै ट्रम्पले खमिनीलाई यस्तो चेतावनी दिएका हुन्। यसैगरी ट्रम्पले इरानका सर्वोच्च नेता खामेनेइ लुकेको ठाउँ आफूहरुलाई थाहा भएको तर अहिले नै उनलाई नमार्ने बताएका छन् । ट्रम्पले लेखेका छन्, ‘हामीलाई थाहा छ– इरानका सर्वोच्च नेता कहाँ छन्, तर हामी उनलाई अहिले नै मार्ने छैनौँ।’
उनले अगाडि लेखेका छन्, ‘हामीलाई राम्ररी थाहा छ– तथाकथित सर्वोच्च नेता कहाँ लुकेका छन्। उनी एक सजिलो निशाना हुन्, तर उनी अहिलेको लागि त्यहाँ सुरक्षित छन् ।’
यसअघि ट्रम्पले इरानको आकाश अहिले आफूहरुको पूर्ण नियन्त्रणमा रहेको दाबी गरेका थिए । उनले भनेका थिए, ‘अब इरानको आकाशमा हाम्रो पूर्ण नियन्त्रण छ।’उनले इरानसँग ‘अत्याधुनिक’ ट्र्याकिङ र सुरक्षात्मक प्रविधिहरु भए पनि ती अमेरिकी प्रविधिसँग दाज्नयोग्य नभएको बताएका छन्।
Facebook Comments