प्रतिनिधि सभाको बैठकबाट बाहिरिए राप्रपा र रास्वपाका सांसद

काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट राप्रपा र रास्वपाका सांसदहरु बाहिरिएका छन् । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहलाई बोल्न अनुमति दिएपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन छाडेर हिँडेका हुन्।
सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखेका छन् ।
आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए ।उनीहरुले संसदमा अवरोध जारी राखेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भने कार्यसूचीबाट हटाइएको छ ।
भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्न माग गर्दै संसद अवरोध गर्दै आएको छ ।