Ad Image

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका, प्रशिक्षण तालिम सञ्चालन

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rampur-nagarpalika-kheladi.jpg

पाल्पा ।  खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड दिएको छ । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रमअन्तर्गत नगरमा खेलाडी उत्पादन गर्न यहाँका बालबालिकालाई भलिबल र फुटबल प्रशिक्षण दिन थालिएको छ ।

नगरभित्रका ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई फुटबल र विभिन्न क्लब तथा विद्यालयमा भलिबल प्रशिक्षणको व्यवस्था गरिएको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको समन्वयमा प्रशिक्षणको माध्यमबाट आवश्यक सीप प्रदान गरी खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षण तालिम सञ्चालन गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले जानकारी दिए । फुटबलतर्फ ८ देखि १२ वर्ष उमेर समूहका बालबालिका र भलिबलतर्फ विभिन्न क्लब तथा विद्यालयका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइएको उनले बताए । 

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बालबालिकाको प्रतिभालाई उजागर गरी सक्षम खेलाडी उत्पादन गर्न प्रशिक्षण दिन थालिएको बताए । “बालबालिकालाई खेलकुदको माध्यमबाट अनुशासन, शारीरिक, मानसिक तथा भावनात्मक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रशिक्षण दिन थालेका हौँ,” उनले भने।

आगामी दिनमा अन्य खेललाई पनि समेट्दै प्रशिक्षण कार्यक्रमलाई थप विस्तार गरिने नगर प्रमुख थापा बताउँछन् । विगतमा समितिले मेयर कपअन्तर्गत विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आए पनि चालु आर्थिक वर्षमा भने खेलाडी प्रशिक्षणमा जोड दिइएको हो । भलिबल खेलाडीलाई राष्ट्रिय भलिबल रेफ्री अनन्तप्रसाद श्रेष्ठ र फुटबलको प्रशिक्षण सरोज अधिकारी, एन्फा रेफ्री केशव श्रेष्ठ, अनिल शाही, कसममल्ल ठकुरी र गुनबहादुर राम्जालीले प्रशिक्षण दिएका हुन्।

नगर खेलकुद विकास समितिका अध्यक्ष सेनले खेलाडी उत्पादनसँगै खेलक्षेत्रको विकासका लागि कार्यक्रमलाई अझ परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । समितिले यसअघि १६० बालबालिकालाई करातेको प्रशिक्षण प्रदान गरेको थियो ।