Ad Image

सोलुमै पहिलो पटक संयुक्त विपद् व्यवस्थापन पोष्ट स्थापना

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bopad.PNG

सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक विपद् प्रतिकार्यका लागि व्यवस्थित र रणनीतिक ‘संयुक्त विपद् व्यवस्थापन पोष्ट’ स्थापना गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका–७ को जोरबौद्धमा विपद् पोष्ट सञ्चालनमा आएको हो । 

उक्त पोष्टमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका विपद् व्यवस्थापनसम्बन्धी विशेष तालिम प्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । हालका लागि ११ जनाको सुरक्षाकर्मी टोलीले चौबिसै घण्टा सेवा दिनेगरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए। 

“सूचना प्राप्त भएको केही समयमै उद्धार टोली परिचालन गर्न सक्ने संरचना तयार पारिएको छ”, उनले भने। मनसुनको उच्च जोखिम हुने तीन महिना (असार, साउन र भदौ)लाई लक्षित गरी हाललाई यो पोष्ट सञ्चालन गरिएको हो । 

भविष्यमा यसलाई थप सुदृढ, संस्थागत र स्थायी बनाउने योजना छ । “भविष्यमा जिल्लाका सबै पालिकामा लागू गर्न सकिने छ”, प्रजिअ घिमिरेले भने। सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान, माप्यदूधकोशी, महाकुलुङलगायतका पालिकामा पुग्न सहज पर्ने मुख्य सडक नजिकैको क्षेत्र भएकाले गार्मा बजारलाई पोष्टको केन्द्र बनाइएको हो ।  

उक्त पोष्टमार्फतमात्र कार्यान्वयन नभएर जिल्लाभरिका स्थानीय तहका विपद् समितिसँग पनि प्रत्यक्ष समन्वय गर्ने कार्य प्रारम्भ भइसकेको छ । प्रजिअ घिमिरेका अनुसार प्रत्येक पालिकाबाट विपद् प्रतिक्रिया संयन्त्रलाई सक्रिय बनाउने र तालिम प्रदान गरेर एकीकृत प्रणाली विकास गर्ने दीर्घकालीन उद्देश्य छ ।