Ad Image

श्रीलंकालाई ८–० ले हराउँदै नेपाल विजयी

User Image मेयरसाप डेस्क | ५ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Samba-football.jpg

काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रंगशालामा बुधबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८–० को फराकिलो जित हात पारेको हो। 

नेपालको जितमा साम्बाले ह्याट्रिक पूरा गरिन् भने गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक÷एक गोल गरे । खेलको सातौँ मिनेटमा नेपालले पहिलो अग्रता लियो । अनिता बस्नेतको कर्नरमा गीताले गोल गरिन् । 

 त्यसपछि खेलको खेलको २०औँ मिनेटमा नेपालले आफ्नो अग्रता दोब्बर बनायो । नेपालका लागि साम्बाले गोल गरिन् । खेलको ३६औँ मिनेटमा कप्तान साम्बाले फ्रि–किकमा सिधै गोल गरिन् । तर रेफ्रीले गोल दिएनन् । त्यसपछि खेलको ४२औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् । खेलको पहिलो हाफको अतिरिक्त समयमा साम्बाले एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् ।

खेलको ५३औँ मिनेटमा श्रीलङ्काकी सचिना डि सिल्भाले नेपालकी रश्मीकुमारी घिसिङलाई लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएको थियो । जसमा गीताले पेनाल्टीमा गोल गरिन् । 

खेलको ६२औँ मिनेटमा निशाले हेड गोल गरिन् । खेलको ७८औँ मिनेटमा सब्स्टिच्युट खेलाडी पूजा रानाको क्रसमा अर्की सब्स्टिच्युट फर्वाड रेखाले गोल गरिन् ।   त्यसपछि खेलको ८९औँ मिनेटमा पूजाले एक गोल थपेसँगै नेपालले श्रीलङ्कामाथि ८–० गोलको जित हासिल ग¥यो । अब नेपालले शनिबार समूह चरणको अन्तिममा घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । 

लगातार दुई जितपछि नेपाल ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा उक्लेको छ । लगातार दुई खेलमा पराजित भएको श्रीलंका एक खेल अगावै बाहिरिने पक्का भएको छ ।

आजै घरेलु टोली उज्वेकिस्तानले लाओससँग खेल्दैछ । यदी उज्वेकिस्तानले लाओसलाई हराएमा एसियन कप पुग्नका लागि नेपाल र उज्वेकिस्तानबीचको अन्तिम खेल निर्णायक हुनेछ । आज हुने अर्को खेलको नतिजापछि अन्तिम खेलमा नेपाललाई कस्तो नतिजा चाहिने भन्ने टुङ्गो लाग्नेछ । समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।