Ad Image

म्याग्दीको मंगला गाउँपालिकाले किसानलाई दियो अनुदानमा मिनिटेलर, मिल र थ्रेसर

User Image मेयरसाप डेस्क | ५ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mangala-gaupalika.jpg

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले किसानलाई अनुदानमा कृषि औँजार र बिरुवा वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार एक सय बयासी मिनिटेलर, मिल र थ्रेसर मेसिन तथा ३२ हजार चार सय वटा सुन्तला, कागती र अलैँचीको बिरुवा वितरण गरेको हो । 

किसानलाई व्यावसायिक फलफूल खेतीप्रति आकर्षित गर्न र यान्त्रिकरणको माध्यमबाट खेती कार्यमा लागत घटाउन ५० प्रतिशत अनुदानमा औजार र बिरुवा वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक जगत बानियाले बताए । 

खेतबारी जोत्न प्रयोग हुने मिनिटेल हलो डिजेलबाट चल्ने ६६ वटा, प्रेट्रोलबाट चल्ने ५८ वटा, विद्युत्बाट चल्ने मिल ४८ वटा र थ्रेसर मेसिन १० वटा वितरण गरिएको उनले बताए । थ्रेसर मेसिन बालीको बोटबाट दाना झार्न प्रयोग हुन्छ । 

यसैगरी बीस हजार अलैँची, सुन्तलाका आठ हजार बिजु, चार सय कलमी र कागतीका चार हजार बिरुवा पनि वितरण गरिएको कृषि प्राविधिक बानियाले बताए । गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री (पेमा)लगायत जनप्रतिनिधिको उपस्थितिमा बिरुवा र औजार वितरण गरिएको थियो । 

सार्वजनिक सूचनामार्फत किसानबाट माग संकलन गरी गाउँपालिकाको कार्यविधि अनुसार मापदण्डमा परेका किसान छनोट गरेर औँजार र बिरुवा वितरण गरेको कृषि प्राविधिक बानियाले बताए ।