‘कुलिङ अफ पिरियड’ हेरफेर प्रकरणः छानबिन गर्न विशेष समिति घोषणा हुँदै


काठमाडौं । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ मा भएको फेरबदल प्रकरणमा छानबिन गर्ने विशेष समितिको आज घोषणा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले विशेष समिति घोषणा गर्ने भएका छन् ।
निजामती सेवासम्बन्धी विधेयकमा भएको फेरबदलको विषयमा छानबिन गर्ने समितिको कार्यादेश पनि आज नै प्रतिनिधिसभा बैठकमा घोषणा गरिने भएको छ । आज सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवाको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने र समितिमा रहने सदस्यहरुको नामावली सुनाउने तयारी छ ।
२१ असारमा सभामुख घिमिरेले विभिन्न दलका नेताहरुसँग छलफल गरी विशेष समिति गठन हुने जानकारी गराएका थिए । सो छलफलपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सात सदस्यीय समिति गठन भएको जानकारी गराएका थिए ।
समितिमा सत्तारूढ कांग्रेस र एमालेका २र२, प्रतिपक्षी दल माओवादी, रास्वपा र राप्रपाबाट १र१ जना सदस्य रहने सहमति भएको छ । समितिमा कांग्रेसले सचेतक सुशीला थिङ र सांसद जीवन परियारलाई पठाउने मौखिक जानकारी प्रमुख सचेतक श्याम घिमिरेले सभामुख घिमिरेलाई दिएका छन् ।
राप्रपाले सांसद रोशन कार्कीलाई समितिको सदस्य बनाउने भएको छ । एमाले, माओवादी र रास्वपाले भने समितिमा रहने सदस्यको नाम आज नै पठाउने जनाएका छन् ।
समितिको संयोजकको जिम्मेवारी सत्तारूढ दलको सबैभन्दा ठूलो पार्टी कांग्रेसलाई दिनेमा पाँच वटै दल तयार छन् । छानबिन समितिलाई गठन भएको मितिले २१ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिने समझदारी भएको छ ।