Ad Image

केन्यामा सरकार विरोधी प्रदर्शनमा ११ जनाको मृ*त्यु, ५०० भन्दा बढी पक्राउ

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kanya.PNG

एजेन्सी । केन्यामा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा ११ जनाको मृत्यु भएको र पाँच सयभन्दा बढीलाई हिरासतमा लिइएको सिएनएनले सोमवार जनाएको छ । 

सिएनएनका अनुसार, सुरक्षा बलले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अश्रु ग्याँस र पानी तोप प्रयोग गरेको थियो । मुख्यतया युवा केन्यालीहरूले भ्रष्टाचारको आरोप, पुलिसको क्रूरता र सन् १९९० को सबा सबा प्रजातन्त्र समर्थक आन्दोलनको ३५औँ वार्षिकोत्सवमा सरकारका आलोचकहरूलाई लक्षित गरी जबरजस्ती बेपत्ता भएको घटनाको विरोधमा प्रदर्शन गरेका थिए ।

किस्वाहिलीमा ‘सबा सबा’ शब्दको अर्थ ‘सात सात’ हो, जसले सन् १९९० जुलाई ७ मा विरोध प्रदर्शन भएको मितिलाई जनाउँछ ।

प्रदर्शनका क्रममा ११ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । यद्यपि केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसिएचआर) ले यो सङ्ख्या २९ राखेको छ भने कुल पाँच सय ६७ जनालाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

यसलाई बढ्दो सङ्कटको बीचमा कर बढाउने विवादास्पद वित्त विधेयक पेस भएपछि गत वर्ष देखि सुरु भएको अशान्तिको लहरको हिस्सा भएको जनाइएको छ ।  

यद्यपि सरकारले सन् २०२४ जुनमा जनताको दबाबका कारण विधेयक खारेज गरे पनि विशेष गरी प्रहरी हिरासतमा एक शिक्षकको मृत्यु र प्रहरीको गोली लागि निहत्था सडक विक्रेताको मृत्यु भएपछि सार्वजनिक आक्रोश बढ्दै गएको छ ।

गत महिना यस्तै विरोध प्रदर्शनमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो र सयौँ घाइते भएका थिए । सन् २०२४ को सुरुदेखि कर विरोधी प्रदर्शनमा दर्जनौँको मृत्यु भएको छ ।

सन् १९९० जुलाई ७ सबा सबा विरोधको सम्झनामा सोमबार केन्याका धेरै क्षेत्रमा प्रदर्शनहरू भए र ठूलो भीड जम्मा भयो । सिएनएनका अनुसार नैरोबीमा सुरक्षा बलहरूको संसद् र राष्ट्रपतिको निवाससहित प्रमुख सरकारी भवनहरू नजिकै प्रदर्शनकारीहरूसँग झडप भयो ।

सोमबार राति जारी गरिएको एक विज्ञप्तिमा केन्याको राष्ट्रिय प्रहरी सेवाले हिंसा र दुव्र्यवहारका सबै रिपोर्ट गरिएका घटनाहरूको कानूनी प्रक्रियाअनुसार अनुसन्धान गरिने घोषणा गरेको छ ।