टीकापुरका महिला जनप्रतिनिधि भन्छन्– ‘अब आफ्नो भूमिका र अधिकार बुझ्यौँ’


कैलाली । टीकापुर नगरपालिकाका महिला जनप्रतिनिधिहरूले आफूहरूको कार्यक्षमता र आत्मविश्वासमा उल्लेखनीय वृद्धि भएको बताएका छन् । विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त प्रशिक्षण र क्षमता विकासका कार्यक्रमपछि उनीहरूले आफ्नो भूमिका, कर्तव्य र अधिकारप्रति स्पष्ट बुझाइ हासिल गरेको जनाएका हुन् ।
कार्यपालिका सदस्य रुपमति डगौरा भन्छिन्, ‘पहिले कार्यपालिका बैठकमा कुरा राख्न गाह्रो हुन्थ्यो । अहिले भने हामी बेवास्ता हुने अवस्थाबाट निस्किसकेका छौं । हाम्रो क्षमता बढेको छ ।’ दोस्रो कार्यकालमा रहेकी डगौरा अघिल्लो कार्यकालमा वडा सदस्य थिइन् । अहिले कार्यपालिका सदस्यको रूपमा उनी तालिमको अवसर पाएको र त्यसले आफ्नो आत्मविश्वासमा ठूलो परिवर्तन ल्याएको बताउँछिन् ।
अन्य महिला सदस्यहरूले पनि तालिमको प्रभाव सकारात्मक रूपमा अनुभव गरेका छन् । कार्यपालिका सदस्य लवरी चौधरी भन्छिन्, ‘हामी महिलाका समस्या अझ राम्रोसँग बुझ्न थालेका छौं। लैङ्गिक हिंसा न्यूनीकरणमा पालिका र समुदाय दुबै क्षेत्रमा सक्रिय भएका छौं।’
महिला जनप्रतिनिधिहरूले न्यायिक समिति र मेलमिलाप केन्द्रको प्रयोग गरी सामाजिक विवादको समाधानमा पनि भूमिका बढाएका छन् । समुदायमा उनीहरूको प्रभाव विस्तार हुँदै गएको छ । नागरिकहरूले वडास्तरका सेवा र योजनाबारे जानकारी लिन सीधै उनीहरूसँग सम्पर्क गर्न थालेका छन् ।
कार्यपालिका सदस्य सरस्वती तिरुवा अघिल्लो जीवन गृहणीको भूमिकामा सीमित थिइन् । ‘२०७९ को निर्वाचनपछि सुरुमा परिचय दिन समेत संकोच हुन्थ्यो,’ उनले भनिन्, ‘तर तालिमले आत्मविश्वास र सार्वजनिक प्रस्तुतिमा सुधार ल्यायो।’
राजारानी चौधरीले प्रशिक्षणपछि समस्या पहिचान गर्न र सम्बन्धित निकायमा आवाज उठाउन सहज भएको अनुभव सुनाइन् । वडाध्यक्ष लालवीर चौधरीले महिला जनप्रतिनिधिको सहभागिता बैठक, कार्यक्रम र नगरसभामा उल्लेखनीय रूपमा बढेको बताएका छन् ।
‘उहाँहरू अब छलफलमा भाग लिनुहुन्छ र जनसमूहका अधिकारबारे स्पष्ट रूपमा आवाज उठाउन थाल्नुभएको छ,’ उनले भने । टीकापुर नगरपालिकाका महिला जनप्रतिनिधिहरूको यो अनुभव स्थानीय सरकारमा लैङ्गिक सहभागिता र सशक्तिकरणको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।