Ad Image

पूर्वउपरथी प्रेम शाहीद्वारा जंगी अड्डाविरुद्धकाे रिट निवेदन फिर्ता

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/jangi adda.JPG

काठमाडौं । पूर्वप्रधानसेनापति प्रभुराम शर्माको कार्यकालमा सैनिक अदालतबाट बर्खास्त गर्ने आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका पूर्वउपरथी प्रेम शाहीले आफ्नो रिट निवेदन फिर्ता लिएका छन् । प्रधानसेनापतिमा अशोक सिग्देल आएपछि उनले आफैँ निवेदन फिर्ता लिएका हुन् ।

शाहीले आफूलाई तत्कालीन प्रधानसेनापति शर्माको पालामा बदनियतपूर्ण तरिकाले कारबाही गरिएको जिकिर गर्दै आएका थिए । उनी पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापानिकट मानिन्थे ।

केही साताअघि निवेदन दिएका शाहीको मागअनुसार बुधबार न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले निवेदन फिर्ता हुने आदेश दिएको छ ।

पृष्ठभूमि र विवाद
प्रेम शाहीसहित तत्कालीन सैनिक नेतृत्वले प्रमुख सेनानी कुलदीप तिम्सिना र महासेनानी महेन्द्रजंग शाहलाई पनि कारबाहीको दायरामा ल्याएको थियो । तिम्सिना र शाह बन्दीप्रत्यक्षीकरणको रिटपछि थुनामुक्त भएका थिए । पछि सैनिक अदालतले शाहीलाई दोषी ठहर गर्दै बर्खास्त र जरिवानाको आदेश सुनाएको थियो ।

शाहीलाई २०७९ पुस ४ गते ५८ वर्षे उमेर हदका कारण पुस २० गतेदेखि अवकाश हुने पत्र थमाइएको थियो । तर, उनले आफ्नो जन्ममिति गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उनले सेना प्रवेश गर्नुअघिको प्रमाणपत्रमा आफ्नो जन्ममिति २०२३ रहेको उल्लेख गरेका थिए । सेनाले भने शैक्षिक प्रमाणपत्रमा भएको मितिअनुसार अवकाशको पत्र थमाएको थियो ।

उनको जन्ममितिमा त्रुटि भएको र नागरिकता अनुसारको जन्ममिति कायम गर्न सेनाको आन्तरिक समितिले सिफारिस गरे पनि तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले त्यसलाई सदर गरेको थिएन । अन्याय भएको भन्दै उनी अदालत पुगेपछि २०७९ पुस १३ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले उनलाई अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

आदेशपछि हाजिर हुन जाने क्रममा सैनिक प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि आर्थिक अनुशासनको आरोप लगाउँदै घरमा समेत छापा मारिएको थियो । अवकाशको पत्र थमाउनुअगावै छानबिन नगरी अदालतबाट जागिर लम्बिने भएपछि मात्र छानबिन गर्नुले जंगी अड्डामाथि प्रश्न उठेको थियो ।