Ad Image

पहिरोका कारण अरनिको राजमार्ग बन्द, सयौँ सवारीसाधन रोकिए

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pppp.jpeg

काभ्रे । सिन्धुपाल्चोकको भोटेकोशी २, इकुमा बिहीबार बिहान खसेको पहिरोले अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

बिहान ५ बजे कोदारीस्थित राजमार्गमा पहिरो खस्दा सडकमाथिबाट माटो झरेको र तलबाट सडक भासिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

पहिरोका कारण तातोपानी नाका हुँदै राजधानीतर्फ आउने मालबाहक कन्टेनर, यात्रुबाहक बस, साना–ठूला सवारीसाधन र एम्बुलेन्ससमेत भन्सार क्षेत्रमै रोकिएका छन् । सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि बुधबार मात्र चीनतर्फबाट आएको बाढीले केरुङ नाकाको संरचना भत्काएपछि सो नाकाबाट नेपाल आउन लागेका पर्यटकहरूलाई सिन्धुपाल्चोकको कोदारी नाका हुँदै काठमाडौं पठाइएको थियो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार १२६ जना पर्यटक कोदारी हुँदै नेपाल भित्रिएका थिए, जसमध्ये ७२ जनालाई हेलिकप्टरमार्फत र ६४ जनालाई बसमार्फत काठमाडौं पठाइएको थियो ।

तर, केरुङ र कोदारी–तातोपानी नाका दुवैतर्फको सडकमा क्षति पुगेपछि चीनसँगको सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ ।