Ad Image

पार्टीको नीति र विधिमाथि प्रश्न उठाउनेलाई शंकर पोखरेलको प्रतिवाद

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/shankar-pokhrel_20220411084153_QzPgLzDvIM.jpg

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानमाथि प्रश्न उठाउनु ’सङ्गठनात्मक अराजकता’ भएको बताएका छन् । विधान महाधिवेशनको तयारीका सन्दर्भमा बिहीबार च्यासलमा आयोजित जनसङ्गठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले विधान महाधिवेशनले तय गरेका कतिपय विषय राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने भएकाले यसको वैधानिक व्यवस्थाबारे जानकारी नलिई प्रश्न उठाउनु अनैतिक भएको धारणा राखे ।

‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो। जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ,’ उनले भने । पार्टी र संगठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै उनले पार्टीका घोषित नीतिको अवज्ञा नगर्न चेतावनी दिए ।

सरकार र नेतृत्वमाथि आक्रमणको आरोप
महासचिव पोखरेलले गत वर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि नै पार्टी र नेतृत्वविरुद्धको आक्रमण बढेको बताए । उनले एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकाले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाउने गरिएको आरोप लगाए ।

‘कुनै बेला सरकारमा लगिदिनु पर्यो भनेर रातदिन बालकोट धाउनेहरू नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपंक्तिमा रहेका छन्,’ पोखरेलले भने । उनले पश्चगामी सोच भएका राजावादी र कम्युनिस्ट नामका माओवादी पनि एमालेलाई गाली गरेर कांग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा रहेको दाबी गरे । यी तीनै शक्ति एमालेलाई कांग्रेसबाट अलग्याएर आफूहरू सहितको सरकार बनाउन तल्लीन रहेको पोखरेलको भनाइ थियो ।

विधान महाधिवेशनको तयारीमा जुट्न निर्देशन
महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा एकथरी नेता कार्यकर्ता पार्टीभित्रै कित्ताकाट गर्ने काममा संलग्न भएको बताए ।

उनले भेलामा सहभागीहरूलाई निर्देशन् दिँदै भने, ‘भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन। त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन।’

उनले नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले थाहा पाउनुपर्नेमा जोड दिए । जनसंगठनमा हालै भएका महाधिवेशनका दस्ताबेज केन्द्रीय कार्यालयमा साता दिन भित्र पठाउन पनि महासचिव पोखरेलले निर्देशन दिए ।

भेलालाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीको नीति र विधिमाथि प्रश्न उठाउनु गलत भएको बताए । ‘पार्टीका नीति, विधिमाथि तल बितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाई त्याग्नुहोस्,’ उनले भने ।