Ad Image

कञ्चनपुरमा डेंगु सचेतना कार्यक्रम सुरु, २९ जनामा संक्रमण पुष्टि

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dengu test1663651888.jpg

कञ्चनपुर । वर्षायाम सुरु भएसँगै डेंगुको जोखिम बढेपछि कञ्चनपुरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले पालिकाहरूमा डेंगु सार्ने लामखुट्टेको बासस्थान पहिचान, लार्भा खोजी र नष्ट गर्ने सम्बन्धी जानकारीमूलक कार्यक्रम चलाइरहेको छ ।

स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार, डेंगु नियन्त्रणको सुरुवात घरआँगन सफा राख्ने र पानी जम्ने ठाउँहरू (जस्तैः फूलदानी, बाल्टिन, टायर, ड्रम, कुलर आदि) हटाउने कार्यबाट सुरु गरिएको छ । समाजका अगुवाहरूलाई भेला गरेर लामखुट्टेको लार्भा पहिचान गर्ने तरिका सिकाउने र पानी जम्ने ठाउँहरूमा सर्भे गर्ने काम भइरहेको छ ।

कार्यक्रममार्फत पानी राख्ने भाँडाहरू ढाकेर राख्न, बिहान र दिउँसो लामखुट्टे बढी सक्रिय हुने समयमा लामो बाहुला भएका कपडा लगाउन, क्रिम प्रयोग गर्न, घरभित्र र वरपर सफा राख्न, झ्याल–ढोकामा जाली लगाउन र झुल प्रयोग गर्न सचेत पारिएको छ । यस्तै, डेंगुका लक्षण देखिएमा (ज्वरो, टाउको दुख्ने, हड्डी दुख्ने आदि) तुरुन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरिएको छ ।

भट्टले डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले बिहान र दिउँसो टोकेर सार्ने जानकारी दिए । यसको लार्भा पानीमा विकसित हुने भएकाले पानी जम्ने भाँडाहरू यसको मुख्य स्रोत भएको उनले बताए । डेंगुको कुनै विशेष औषधि नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय हो ।

हालसम्म कञ्चनपुरमा चालु आर्थिक वर्षको साउनदेखि २९ जनामा डेंगु संक्रमण देखिएको छ । शुक्लाफाँटा नगरपालिकामा कार्यक्रम सम्पन्न भइसकेको र कृष्णपुर नगरपालिकालगायत अन्य जोखिमपूर्ण ठाउँमा पनि सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको भट्टले बताए ।

पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले व्यक्तिगत सरसफाइ, सामुदायिक सचेतना र सरकारी निकायबीचको सहकार्य डेंगु नियन्त्रणका लागि अपरिहार्य रहेको बताए ।