Ad Image

सामुदायिक वनद्वारा ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ अभियान

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bichar.jpg

अर्घाखाँची । अर्घाखाँचीका सामुदायिक वनहरूले आफ्नो आम्दानीबाट विभिन्न विकास निर्माणका काम गर्दै ’आफ्नो गाउँ आफैँ बनाऊँ’ अभियानलाई सार्थकता दिएका छन् ।

उनीहरूले सडक निर्माण, विद्यालय भवन, कुलो, बिजुलीबत्ती जस्ता सामाजिक सेवाका कार्यमा सक्रियता देखाएका छन्, जसले वैदेशिक रोजगारीबाट समेत युवाहरूलाई गाउँ फर्किन आकर्षित गरेको छ ।

शीतगङ्गा नगरपालिकाका सामुदायिक वनहरूले सडक कालोपत्रे गर्नेदेखि प्राङ्गारिक मल उत्पादनसम्मका काम गरिरहेको सिनियर डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठले बताए । 

मजुरेडाँडा सामुदायिक वनले स्थानीय सरकारसँग सहकार्य गरी १५ लाख रुपैयाँको लागतमा सडक कालोपत्रे गरेको छ । त्यस्तै, पावर सामुदायिक वनले पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन सुरु गरेको छ, जसले अर्गानिक खेतीलाई प्रोत्साहन गरेको छ ।

गौडे सामुदायिक वनले कुलो, सडक निर्माण र खोला कटान नियन्त्रणमा काम गरिरहेको छ भने, धीरेखोला सामुदायिक वनले आफ्नो आम्दानीबाट गाउँमा बिजुलीबत्ती बालेको छ ।

यसका साथै, कृषि पेसालाई व्यावसायिक बनाउन मिनी टिलर र चाप कटहर वितरण जस्ता कार्य पनि गरिरहेको अध्यक्ष नारायण पौडेलले बताए । उनले विकासका लागि कुनै पनि तहका सरकारको मुख ताक्नु नपर्ने अवस्था आएकोमा जोड दिए ।

डोहोटे सामुदायिक वनले विद्यालयमा शिक्षकको तलब व्यवस्थापन, सडक निर्माण, बाख्रा वितरण र शौचालय निर्माण जस्ता बहुआयामिक काम गर्दै आएको अध्यक्ष रेशमराज बन्जाडेले जानकारी दिए । उनले नेपालमा विदेशी काठ आयात बन्द गरी स्वदेशी काठको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

हालै लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारसहितको टोलीले शीतगङ्गाका सामुदायिक वनले गरेका कामको निरीक्षण गरेको छ । मन्त्री कलवारले विदेशी काठको आयात तत्काल रोकी नेपाली काठको उच्चतम् प्रयोग गर्नुपर्नेमा जोड दिँदै वर्षौँदेखि काठमा परनिर्भर हुनुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्ने बताए ।

लुम्बिनी प्रदेश सरकारका वन महानिर्देशक प्रभात सापकोटाले सामुदायिक वनमार्फत वनको दिगो व्यवस्थापन र व्यावसायिक प्रयोगलाई प्राथमिकता दिने नीति अगाडि बढाउने बताए ।