नेपालको अर्थतन्त्र ४ खर्बले बढ्यो, राजस्व र पुँजीगत खर्च पनि वृद्धि


काठमाडौं । नेपालको अर्थतन्त्रमा उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको आकार ४ खर्ब रुपैयाँले बढेर ६१ खर्ब रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको ५७ खर्ब रुपैयाँको तुलनामा उल्लेखनीय सुधार हो । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकले यो जानकारी दिएको हो ।
सरकारको राजस्व संकलनमा समेत उल्लेख्य सुधार आएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष १ खर्ब ८ अर्ब रुपैयाँ बढी राजस्व उठेको छ । अघिल्लो वर्ष ९ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा, चालु आर्थिक वर्षमा यो बढेर १० खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।
पुँजीगत खर्चमा पनि सकारात्मक वृद्धि देखिएको छ । यसै असार २६ गतेसम्ममा २ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ, जुन गत वर्षको तुलनामा ३६ अर्ब रुपैयाँले बढी हो ।
अर्थ मन्त्रालयले निर्माण क्षेत्रका गुनासा र मागहरू सम्बोधन भएको दाबी गरेको छ । सरकारले अघिल्ला वर्षहरूको ३० अर्ब रुपैयाँभन्दा बढी दायित्व भुक्तानी गरेको जनाएको छ । यससँगै, निर्माण व्यवसायीहरूको भुक्तानीसम्बन्धी समस्या समाधान भएको सरकारको भनाइ छ ।