दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुनः पक्राउ


काठमाडौं । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई बिहीबार बिहान पुनः गिरफ्तार गर्न अनुमति दिएको छ । गत डिसेम्बरमा उनले लगाएको संक्षिप्त मार्सल ल (सैन्य शासन) सँग सम्बन्धित अभियोगमा प्रमाण नष्ट गर्ने जोखिम रहेको विशेष अभियोजकको दाबीलाई स्वीकार गर्दै अदालतले यो आदेश दिएको हो ।
सियोल केन्द्रीय जिल्ला अदालतको गिरफ्तारी वारेन्टपछि युनलाई राजधानी नजिकैको हिरासत केन्द्रमा फिर्ता पठाइएको छ । गत मार्चमा रिहा भएपछि यो चार महिनापछि उनको दोस्रो गिरफ्तारी हो ।
युनको आपराधिक मुद्दा विशेष अभियोजक चो युन–सुकको टोलीले हेरिरहेको छ । टोलीले युनमाथि आधिकारिक कर्तव्यमा बाधा पुर्याउने, शक्तिको दुरुपयोग र आधिकारिक कागजातहरू जालसाजी गर्ने लगायतका थप आरोपहरू लगाएको छ ।
युनका वकिलहरूले गिरफ्तारी अनुरोधलाई ‘अत्यधिक र आधारहीन’ भनेका छन् । गत अप्रिलमा संवैधानिक अदालतले महाभियोग लगाएर पदबाट हटाएका युनको नयाँ गिरफ्तारीले महिनाऔँसम्म हिरासतमा बस्नुपर्ने अवस्था आउन सक्छ ।
युनले डिसेम्बर ३ मा आफ्नो ‘राज्य विरोधी’ उदारवादी विरोधीहरूलाई बाधा पुर्याएको आरोप लगाउँदै मार्सल ल आवश्यक भएको बताएका थिए । तर, केही घण्टामै नेसनल एसेम्बलीका सांसदहरूले उनको आदेशलाई निष्क्रिय पारेका थिए ।
डिसेम्बर १४ मा उनलाई महाभियोग लगाइएको थियो भने जनवरी २६ मा सरकारी अभियोजकहरूले विद्रोहको प्रयासको आरोपमा मास्टरमाइन्डको रूपमा अभियोग लगाएका थिए । यी आरोपहरूको सजाय मृत्युदण्ड वा आजीवन कारावाससम्म हुन सक्छ ।
वर्तमान राष्ट्रपति ली जे म्यङले गत महिना युनको मार्सल ल विफलता र उनकी पत्नी तथा प्रशासनसँग सम्बन्धित अन्य आपराधिक आरोपहरूमा व्यापक विशेष अनुसन्धान सुरु गर्न कानुनलाई अनुमोदन गरेका थिए ।