कला क्षेत्रका साइबर अपराध रोक्न ‘फोकल पर्सन’ तोकिने


काठमाडौं । गीतसंगीत र कला क्षेत्रमा बढ्दो साइबर अपराध र विकृति नियन्त्रणका लागि साइबर ब्युरोमा छुट्टै ‘फोकल पर्सन’ तोकिने भएको छ । गृहमन्त्री रमेश लेखकले बिहीबार राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको टोलीलाई भेट्दै उक्त जानकारी दिएका हुन् ।
गृहमन्त्रीले सामाजिक सञ्जालमार्फत समाजमा विद्वेष, घृणा, लान्छना र अपमान फैलाउने सामग्रीको नियन्त्रणका लागि निष्कर्ष निकालेर अघि बढ्ने प्रतिबद्धता जनाए । प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख नवीन्द अर्याललाई उनले फोकल पर्सन तोकेर आवश्यक कारबाही थाल्न निर्देशन दिएका छन् ।
प्रहरी प्रमुख थापाले ‘गीतसंगीत र दोहोरीको नाममा विकृति फैलिएको’ भन्दै आम नागरिकलाई यस्ता विषयमा प्रहरीसमक्ष उजुरी दिन आग्रह गरे ।
प्रतिष्ठान अध्यक्ष शान्ति श्री परियारसहित कलाकार शिव हमाल, बद्री पंगेनी, पूर्णकला बीसी, कुलेन्द्र विश्वकर्मा, सुरेश अधिकारीलगायतले लोकसंगीतमा बढ्दो अश्लीलता रोक्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी, राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज पर्व लक्षित अश्लील गीत रोक्न गृहमन्त्रीलाई छुट्टै ध्यानाकर्षण पत्र बुझाएको छ । गृहमन्त्री लेखकले यसबारे सरकारले कडा कदम चाल्ने बताएका छन् ।