खेलकुदमा राजनीति नगर्न प्रधानमन्त्रीको चेतावनी, एनपीएल नरोक्न ठाडो निर्देशन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा राजनीति नगर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कडा चेतावनी दिएका छन् ।
सातदोबाटोमा नवनिर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब’ को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले खेलकुद विकास गर्ने क्षेत्र भएको र यसमा राजनीतिको कुनै स्थान नहुने स्पष्ट पारे ।
एनपीएल विवादमा ठाडो निर्देशन
नेपाल प्रिमियर लिग (एनपीएल)को हिसाबकिताबलाई लिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान)बीच विवाद चलिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्री चौधरीले गठन गरेको कार्यदलको निर्णयमा आपत्ति जनाएका छन् । उक्त कार्यदलले अख्तियारको छानबिन नसकिँदासम्म एनपीएलको काम रोक्न निर्देशन दिएको थियो ।
प्रधानमन्त्री ओलीले भने क्यानलाई एनपीएलको भव्य तयारी गर्न निर्देशन दिँदै यसलाई ‘राष्ट्रिय प्राइड’को रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले क्रिकेटको बढ्दो क्रेजलाई मध्यनजर गर्दै एनपीएलको आयोजना हुनैपर्ने बताए ।
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुद पटक–पटक सरेकोमा पनि आपत्ति जनाए । उनले अब मंसिरमा जसरी पनि खेलकुद आयोजना गर्न मन्त्रालयसहित सम्बन्धित निकायलाई निर्देशन दिए, यसलाई ‘लज्जाको विषय’ भएको बताए ।
त्यस्तै, उनले कीर्तिपुर रंगशाला सानो भयो भन्दै चित्त नदुखाउन क्रिकेट समर्थकहरूलाई आग्रह गरे । यो पहिलो चरणको काम मात्र भएको र दोस्रो चरणमा यसको अझ ठूलो विस्तार गरी रात्रि खेलसमेत खेल्न मिल्ने गरी अन्तर्राष्ट्रिय स्तरको मैदान बनाइने उनले जानकारी दिए ।