Ad Image

जर्मनीसँग सीधा उडानको प्रस्ताव लिएर स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/arazu_rana.jpg

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ)को ४४औँ अधिवेशन र त्यसपछिको जर्मनी भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छन् ।

एफएओ सम्मेलनमा उनले खाद्य अधिकारलाई नेपालको मौलिक अधिकारका रूपमा व्यवस्था गरिएको र जलवायु परिवर्तनले नेपालजस्ता देशहरूमा पारेको क्षति बारे विश्व समुदायको ध्यानाकर्षण गराइन् । उनले दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि अनुदानमा आधारित जलवायु वित्तको माग पनि राखिन् ।

जर्मनी भ्रमणका क्रममा मन्त्री डा. राणाले त्यहाँका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरिन् । भेटमा उनले नेपालमा रासायनिक मल कारखाना लगायतका क्षेत्रमा जर्मनीको लगानी र सिधा हवाई उडानका लागि प्रस्ताव गरिन् ।

साथै, सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि जर्मनी र युरोपियन युनियनबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा रहेको बताइन् । उनले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीलाई सहयोगका लागि अनुरोध गरिन् र राष्ट्रसङ्घका विभिन्न परिषद्का लागि नेपालको उम्मेदवारीमा सहयोगको आग्रह पनि गरिन् ।

मन्त्री डा. राणाले इटाली र जर्मनीमा लगानी बोर्ड नेपालद्वारा आयोजित लगानी प्रवद्र्धन कार्यक्रमहरूमा पनि सहभागिता जनाएकी थिइन् ।