छाडा चौपाया व्यवस्थापनसँगै मासिक १ लाख आम्दानी

.jpg)
कैलाली । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा विसं २०७४ मा स्थापित गौशालाले छाडा पशुचौपायाको व्यवस्थापनसँगै आम्दानीको स्रोत पनि बढाउँदै लगेको छ । हाल १४३ वटा छाडा पशुचौपाया रहेको यस गौशालामा २७ वटा दूध दिने स्थानीय गाई छन् ।
गौ संरक्षण सेवा समितिका व्यवस्थापक रिता अवस्थीका अनुसार, ती गाईबाट दैनिक ३२ लिटर दूध उत्पादन भइरहेको छ । प्रतिलिटर ९० रुपैयाँका दरले दूध बिक्री गर्दा मासिक करिब ८६ हजार ४०० रुपैयाँ आम्दानी हुने गरेको छ ।
दूधसँगै गौशालाबाट गड्यौला मल र गोठेमलसमेत उत्पादन भइरहेको छ, जसबाट मासिक ३० हजार रुपैयाँ आम्दानी हुन्छ । गौशालाको मुख्य आम्दानी भने विभिन्न गौदान, श्राद्ध, पूजाआजा लगायतका धार्मिक कार्यक्रमबाट हुने गरेको अवस्थीले बताइन् ।
गौशालामा रहेका पशुहरूको हेरविचारका लागि पाँच जना कर्मचारी राखिएको छ, जसको तलबमा मासिक ७५ हजार रुपैयाँ खर्च हुन्छ । यसबाहेक पशु आहार (भुसा, पराल, दाना आदि) मा पनि खर्च भइरहेको छ । व्यवस्थापन समूहले गाईका लागि पर्याप्त पोषणयुक्त आहारा पुर्याउन सकेमा दूध उत्पादन अझ बढाउन सकिने जनाएको छ ।
अवस्थीले सामुदायिक गौशाला भए पनि सरकारी निकायबाट अपेक्षाकृत सहयोग नपाएको गुनासो गरिन्। धनगढी उपमहानगरपालिका र भेटेरिनरी अस्पताल जस्ता निकायबाट कहिलेकाहीँ सहयोग प्राप्त भए पनि त्यो गौशाला व्यवस्थापनका लागि अपुग रहेको र थप सहयोगको आवश्यकता रहेको उनले औँल्याइन् ।