Ad Image

एनआईटीसीका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sunil_poudel_techpana_news__3zU6vxz6aX.jpg

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा यो मुद्दा दायर गरेको हो ।

अख्तियारले पौडेलसँगै केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वल्र्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष अरुण श्रेष्ठलाई प्रतिवादी बनाएको छ । उनीहरूमाथि गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरी १५ करोड ८८ लाख रुपैयाँ बराबरको भुक्तानी लिने÷दिने कार्य गरी भ्रष्टाचार गरेको आरोप छ ।

उनीहरूले उच्च कम्प्युटर पूर्वाधार खरिदका लागि ३० करोड ९९ लाख रुपैयाँको लागत अनुमान तयार गरी २०७६ माघ १५ गते भ्याटसहित ३० करोड ६५ लाख रुपैयाँको बोलपत्र स्वीकृत गरेका थिए । अख्तियारले यी ६ जना प्रतिवादीबाट जनही १५ करोड ८८ लाख रुपैयाँ बिगो कायम गरी सजायको माग दाबी गरेको छ ।

पौडेलविरुद्ध अख्तियारले यसअघि पनि आरआईएससी र एचसीआई सर्भर खरिदमा ३ अर्ब १४ करोड रुपैयाँ तथा सुरक्षा र नेटवर्क उपकरण खरिदमा ३ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरिसकेको छ । यस्तै, नेपाल टेलिकमको प्रबन्ध निर्देशक हुँदा बिलिङ प्रकरणमा गरेको भ्रष्टाचार मुद्दा पनि अदालतमा विचाराधीन छ ।