लिङ्देनले अनुशासन समितिबाट हटाएपछि नवराज सुवेदी असन्तुष्ट, भोलि निर्वाचन आयोग जाने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएपछि सुवेदी निर्वाचन आयोग जाने भएका छन् । राप्रपाको इतर समूहको शनिवार भएको भेलाले अध्यक्ष लिङ्देनले विधान विपरीत सुवेदीलाई हटाएको निष्कर्ष निकाल्दै आइतबार निर्वाचन आयोगमा उजुरी दिने भएको हो ।
आइतबार बिहान साढे ११ बजे निर्वाचन आयोगमा उजुरी दिने निर्णय भएको बताइएको छ । महामन्त्री धवलशमशेर राणाको राजधानीस्थित अपार्टमेन्टमा भएको शनिबारको करिब ४ घण्टा लामो बैठकमा लिङ्देनले आफ्नो आलोचकलाई धमाधम पदबाट विधान विपरीत हटाएको भन्दै सहभागीले कडा आलोचना गरेका थिए ।
हाल हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक रहेका सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर लिङ्देनले पार्टी उपाध्यक्ष रोशन कार्कीलाई उक्त जिम्मेवारी दिएका थिए । यस्तै लिङ्देनले प्रवक्ता सगुन लावतीलाई पनि हटाएका थिए ।