Ad Image

३ दशकपछि गाउँ फर्किएर कृषि क्रान्ति : गोलभेँडा र स्याउ खेतीबाट आत्मनिर्भरता

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG_2356.JPG

म्याग्दी । रोजगारीका लागि गाउँ छाड्ने क्रम बढिरहेका बेला, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने तीन दशक लामो बसाइँपछि जन्मगाउँ फर्किएर कृषि अभियानमा जुटेका छन् ।

नवलपरासीबाट फर्केका र वैदेशिक रोजगारमा सफल हुन नसकेका पुर्जाले माटोमै पसिना बगाएर आत्मनिर्भर बन्ने सपना देखेका थिए । विगत चार वर्षदेखि काफलडाँडामा फर्किएका पुर्जाले डेमरकटेरा टोलमा ’कुमार पुर्जा कृषि तथा पशुपन्छी फार्म’ स्थापना गरेका छन् ।

करिब ६ लाख रुपैयाँ लगानीमा दुईवटा हाइटेक प्रविधिसहितको तीनवटा टनेलमा गोलभेँडा खेती गरेका छन्, जसबाट वार्षिक ४ लाख बढीको कृषि उपज उत्पादन गर्ने लक्ष्य छ । उनले स्थानीय काठ, निगालो र डोरी प्रयोग गरी टनेल निर्माण गरेका छन् र गोलभेँडा उत्पादनमा विषादीको सट्टा गाईभैँसीको मल, गहुत र तितेपातीको झोल प्रयोग गर्छन् ।

उनको उत्पादन स्थानीय बजार, पर्वत बेनी र बेनी सदरमुकाममा खपत हुने गरेको छ । श्रीमती र छोराबुहारी नवलपरासीमै रहे पनि पुर्जा भने जन्मथलोमै कृषि खेतीमा रमाउँदै र कमाउँदै छन् ।

गोलभेँडा खेतीसँगै पुर्जाले काफलडाँडामा करिब पाँच रोपनी जग्गामा परीक्षणका रूपमा ७० वटा स्याउका बिरुवा लगाएका छन् । यसअघि लगाएका बोटले फल दिएपछि व्यावसायिक रूपमा स्याउको खेती विस्तार गर्ने उनको योजना छ । कृषिलाई व्यावसायिक र व्यवस्थित बनाउन फार्ममा थोपा सिँचाइको प्रबन्ध गरिएको छ ।