Ad Image

विदेश त्यागेर गोलभेँडा खेतीबाट मनग्य आम्दानी गर्छन् कमल

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Kamal Timsina Panchthar Krishak.JPG

पाँचथर । प्रायः युवा विदेशिने सोच राखिरहेका बेला, पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिनाले भने विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । उनको परिवारको दैनिकी अहिले बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउनमा व्यस्त छ ।

११ वर्षअघि ताप्लेजुङबाट बसाइँ सरेर पाँचथर आएको तिम्सिना परिवारले मेची राजमार्ग नजिकै करिब ४० रोपनी (केही आफ्नै र केही बन्दकीमा लिएको) जमिनमा व्यावसायिक रूपमा गोलभेँडा, खुर्सानी, सुन्तला लगायतका नगदे बाली लगाउँदै आएको छ ।

विगत १० वर्षदेखि गोलभेँडा खेती गरिरहेको यो परिवारले एक टिपाइमा २० देखि ६० क्यारेट (एक क्यारेटमा करिब २३ किलो) गोलभेँडा उत्पादन गर्छ । एउटै बिरुवाबाट तीनदेखि सात पटकसम्म गोलभेँडा टिप्न सकिन्छ ।

हाल व्यवसायीहरूले प्रतिकिलो २० रुपैयाँमा गोलभेँडा खरिद गरिरहेका छन् । १० वर्षको अवधिमा गोलभेँडाले कहिले प्रतिकिलो २ रुपैयाँ ५० पैसासम्म त कहिले ७० रुपैयाँसम्म मूल्य पाएको अनुभव यो परिवारसँग छ ।

कमलका अनुसार, प्रतिकिलो २० रुपैयाँ वा सोभन्दा बढी मूल्य आएमा घाटा लाग्दैन र ३० रुपैयाँभन्दा बढी मूल्यमा बिकेमा राम्रो आम्दानी र बचत हुन्छ । मूल्यमा उतारचढाव आए पनि तिम्सिना परिवारले कहिल्यै हिम्मत हारेको छैन ।

यस वर्ष तिम्सिना परिवारले ८ हजार खुर्सानी र ६ हजार गोलभेँडाका बिरुवा लगाएका छन् । खर्च कटाएर वार्षिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको कमलले बताए । यहाँ फागुन, चैत र भदौमा गरी दुई पटक गोलभेँडा लगाइन्छ। किसानहरूले रोगकीराको अत्यधिक समस्याका कारण सामान्य विषादी प्रयोग गर्ने गरेको बताएका छन् ।

कमलले विदेश जाने कुरा नसोचेका भने होइनन्, तर आकर्षक रोजगारीमा जान धेरै लगानी लाग्ने भएपछि उनले गाउँमै बसेर खेती गर्ने निर्णय गरे । उनकी आमा टीकादेवी तिम्सिना पनि छोरा विदेश नगई गाउँमै खेती गरिरहँदा खुसी छिन् ।

यद्यपि, खुर्सानी जस्ता केही उत्पादनले अहिले लागतसमेत उठाउन नसकेको किसानहरूको गुनासो छ, जहाँ गत वर्ष प्रतिकिलो १३० रुपैयाँमा बिक्री भएको खुर्सानी अहिले ३० रुपैयाँमा झरेको छ ।