शिक्षा ऐन जारी नभए पुनः आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि २ साउनसम्मको समयसीमा दिएको छ । यदि सो मितिसम्म ऐन जारी नभए आन्दोलनमा उत्रने महासंघले चेतावनी दिएको छ । महासंघको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।
महासंघकी सह–अध्यक्ष नानुमाया पराजुलीले सरकारले १५ असारभित्र ऐन जारी गर्ने प्रतिबद्धता पूरा नगरेको र शिक्षा समितिको बैठक पनि अनिश्चित भएको भन्दै ’फेरि आन्दोलनको विकल्प नदेखिएको’ बताइन् । “सरकार शिक्षक आन्दोलनको मर्म र भावना समेट्न तयार देखिएको छैन,“ उनले भनिन् ।
गत वैशाख १७ गते सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको थियो, जसमा १५ असारभित्र ऐन जारी गर्ने उल्लेख थियो । तर, उक्त समयसीमा सकिएको १५ दिन बितिसक्दा पनि विधेयक समितिमा अड्किएको छ । महासंघले सरकारले आफ्ना मागहरूलाई बेवास्ता गरेको निष्कर्ष निकालेको छ ।
महासंघले शिक्षकको बढुवा, विभागीय कारबाही र अस्थायी शिक्षकको विषयमा केही कुराहरू मिल्न बाँकी रहेको जनाएको छ । विशेषगरी, विभागीय कारबाहीको अधिकार स्थानीय तहलाई नदिन महासंघको जोड छ ।
महासंघले २ साउनमा पत्रकार सम्मेलन गर्ने र आन्दोलनका कार्यक्रमहरू अनुमोदन गर्न ९ र १० साउनमा केन्द्रीय समितिको बैठक बोलाएको छ । यसअघि गत चैत २० गतेदेखि २९ दिन लामो शैक्षिक हड्ताल गरी देशभरका शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका थिए ।