Ad Image

वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/aswear.jpg

काठमाडौं । वेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् कम्पनी लिमिटेडद्वारा कर्णाली नदीमा निर्माणाधीन ४३९ मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज उक्त आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको हो । ऊर्जासचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत (सिइओ) कृष्णप्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् ।

सचिव आचार्यले आयोजना निर्माणको कामलाई समयमै सम्पन्न गर्न आग्रह गरे । वर्षौंदेखि अनुमति प्रक्रिया रोकिँदा निर्माण अगाडि बढ्न नसकेर उत्पादक, लगानीकर्ता र सञ्चयकर्ताहरू निराश भइरहेका बेला ऊर्जामन्त्री दीपक खड्काको निर्देशनपछि भारतीय अप्पर कर्णाली हाइड्रोपावरसँग समन्वय गरी अनुमति प्रदान गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

अनुमतिपत्र प्रदान कार्यक्रममा मन्त्रालयका सहसचिव, विद्युत् विभागका महानिर्देशकका साथै प्रतिनिधिसभा सदस्य हृदयराम थानी, शेरबहादुर कुँवर, पुष्पबहादुर शाहलगायतको उपस्थिति थियो ।

उत्पादन अनुमतिपत्र ग्रहण गर्दै कम्पनीका सिइओ आचार्यले यसअघि रहेका जटिलताहरू कूटनीतिक पहलबाट समाधान गर्दै अनुमति दिन महत्त्वपूर्ण भूमिका खेल्नुभएकामा ऊर्जामन्त्री, सचिवलगायत लगानी बोर्डलाई धन्यवाद दिए ।

उक्त आयोजनामा कर्मचारी सञ्चयकोष, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनी लिमिटेडबाट क्रमशः १५, १० र १० प्रतिशत लगानीसहित कुल लागत करिब रु ९३ अर्ब रहने अनुमान गरिएको छ ।

बाँकी ४० प्रतिशत कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा राष्ट्रसेवक कर्मचारी र २५ प्रतिशत स्थानीय तथा अन्य नागरिकको लगानी रहनेछ ।