Ad Image

आफूमाथि लगाइएका आरोप परीक्षणसहित पुष्टि गर्न मन्त्री गुप्ताको चुनौती

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Rajkumar-gupta.jpg

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू निराधार भएको बताएका छन् । केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूमा आइरहेका समाचार र त्यसमा समावेश तथ्यहरूप्रति आपत्ति जनाउँदै ती आरोपहरूको परीक्षणसहित पुष्टि गर्न चुनौती समेत दिएका हुन्।

आफूविरुद्ध हाल सञ्चारमाध्यमहरूमा आइरहेका समाचारहरू प्रायोजित र निराधार रहेको दाबी गर्दै मन्त्री गुप्ताले सरुवा र नियुक्तिजस्ता कार्यमा कहीँकतै घुस डिल नगरेको स्पष्ट गरे । ‘यो विषय मेरा लागि अत्यन्त संवेदनशील छ, ममाथि प्रश्न उठाएपछि अब यस्ता आरोपहरू पुष्टि गर्न मिडिया स्वयंले पनि प्रमाण खोज्नुपर्छ,’ उनले भने, ‘प्रतिष्ठा हरण र निराधार आरोपको पुष्टि हुने आधार मिडियाले खोजौँ ।’

सरुवा र नियुक्तिलगायत विषयमा ‘रकम बार्गेनिङ गरेको’ भन्ने जस्ता आशयका समाचारहरूले आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आँच पुर्‍याएको उनको भनाइ छ । समाचारमा आएका विषयवस्तुहरूप्रति गम्भीर आपत्ति रहेको जनाउँदै मन्त्री गुप्ताले आफूविरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमलाई नै विभिन्न पाँचवटा प्रश्न तेस्र्याउँदै उत्तर खोज्न आग्रह गरे ।

के–के हुन् मन्त्री गुप्ताकाे प्रश्न ?

१. बिचौलिया वा कर्मचारी सरुवा गर्न दबाब दिने को हुन्?
२. नोट राखिएको टेबल कहाँको हो ? जुन टेबुल देखाइएको छ त्यो म कहाँ कहिल्यै छैन ।
३.नोटको नम्बरसहित अख्तियारमा निवेदन गरेको भनियो तर ती नोट कहाँ, कसले दियो ? कुन अवस्थामा छ ? मलाई थाहा छैन ।
४. प्रभावमा पार्न जोडिएका कर्मचारीको बारेमा मलाई केही थाहा छैन । अनि भूमि आयोगमा नियुक्त भए कि छैनन् ?
५.अडियोमा समावेश आवाज मेरो होइन । सूचना प्रविधिको दुरुपयोग गरी निर्माण गरिएको हुनसक्छ । त्यसको कसले पुष्टि गर्ने?

मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको संवाद सार्वजनिक भएपछि उनको चौतर्फि आलोचना भएको छ । यस विषयमा बुझ्न आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर कुराकानी गरेका थिए ।