सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप हुँदा ८९ जनाको मृ*त्यु


एजेन्सी । सिरियाको दक्षिणी स्वेइदा प्रान्तमा सुन्नी बेदुइन समुदाय र ड्रुज लडाकूहरूबीच जारी जातीय झडपमा कम्तीमा ८९ जनाको ज्यान गएको छ ।
मृतकमध्ये ४६ जना ड्रुज, १८ जना बेदुइन लडाकू, चार जना सर्वसाधारण र सात जना सैनिक पोशाकमा रहेका अज्ञात व्यक्ति रहेको सिरियाली मानव अधिकार निगरानी संस्थाले जनाएको छ ।
हिंसा आइतबार सुरु भएको थियो, जब बेदुइन समूहले डामास्कस जाने राजमार्गमा एक ड्रुज तरकारी व्यापारीलाई अपहरण गरे । घटनाले प्रतिघातको रूप लिँदै अपहरणको श्रृङ्खला र त्यसपछिको सशस्त्र भिडन्तलाई निम्त्यायो ।
झडप सोमबारसम्म जारी रहँदा गाउँहरूमा ‘मोर्टार’ प्रहार भएको र दर्जनौँ मानिस घाइते भएको समाचार संस्था ‘स्वेइदा २४’ ले जनाएको छ । स्वेइदाको सडक सुनसान छन्, पसल बन्द छन् र अन्त्येष्टि समारोहको बीचमै गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
५१ वर्षीय स्थानीय बासिन्दा अबु तयमले भन्नुभयो,“हामी अत्यधिक त्रासमा थियौं । गोला बारुद अनियमित रूपमा खसिरहेका थिए ।”
इजरायली सेनाले घटनालाई मध्यनजर गर्दै स्वेइदामा केही ट्याङ्कहरूमा आक्रमण गरेको दाबी गरेको छ, तर विस्तृत विवरण दिएको छैन ।
यहीबीच, सिरियाली सरकारका रक्षा र गृहमन्त्रालयले सेनाको परिचालन, सर्वसाधारणका लागि सुरक्षित मार्ग र हिंसा चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्वेइदाका आध्यात्मिक ड्रुज नेताहरूले स्थिति नियन्त्रण गर्न दमास्कसलाई हस्तक्षेप गर्न आग्रह गरेका छन् । तर प्रमुख धार्मिक नेता शेख हिक्मत अल–हिज्रीले सुरक्षा निकायको प्रवेश अस्वीकार गर्दै ‘अन्तर्राष्ट्रिय संरक्षण’ को माग गरे ।
देशमा १४ वर्ष लामो युद्धपछि बनेको अन्तरिम सरकार नेतृत्वकर्ता अहमद अल–शराअका लागि यो अवस्था चुनौतीपूर्ण बनेको छ । शिक्षा मन्त्रालयले सोमबार स्वेइदा प्रान्तमा हुने भनिएका माध्यमिक तहका परीक्षा स्थगित गरेको छ ।
सिरियाको नागरिक युद्धअगाडि करिब सात लाख ड्रुज समुदाय रहेको अनुमान गरिएको थियो, जसको मुख्य बसोबास स्वेइदा प्रान्तमै छ । ड्रुज र बेदुइन समुदायबीचको पुरानै द्वन्द्वले यदाकदा हिंसात्मक रूप लिँदै आएको छ ।