डेंगी परीक्षण शुल्क निर्धारण गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गरिने बताएका छन् । ’श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सकेसम्म डेंगी परीक्षण निःशुल्क गर्ने र सम्भव नभए निश्चित शुल्क तोकिने जानकारी दिए ।
उनले डेंगीको जटिलता र चुनौती समाजले अझै महसुस नगरेको र आफू सुरक्षित छु भन्नु गलत रहेको बताए । परिवारमा एक जना बिरामी पर्दा पनि असहजता हुने भन्दै उनले डेंगीको समस्या वर्षेनी बढिरहेको र यसले समाजलाई नै प्रभावित बनाएको उल्लेख गरे ।
मन्त्री पौडेलले गरिब तथा दुःखी नागरिकबाट परीक्षणको नाममा चर्को शुल्क असुल्ने कार्य बन्द गर्न चेतावनी दिँदै निजी स्वास्थ्य संस्थालाई पनि शुल्क निर्धारणको दायरामा ल्याइनुपर्नेमा जोड दिए ।
उनले सरकारले डेंगी नियन्त्रणमा सोचेजति काम गर्न नसकेको स्वीकार गर्दै सञ्चारमाध्यमसँग सहकार्य गरी प्रचारप्रसारमा लाग्ने तयारी भइरहेको बताए ।